काठमाण्डू, २५ फागुन– गृहमन्त्री रमेश लेखकले पूर्वराज ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन । आज आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा सञ्चाकर्मीसँग कुरा गर्दै प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
गृहमन्त्री लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन् । उनले भने, ‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन ।’
जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भन्ने भ्रम नपाल्न उनले पूर्वराजलाई आग्रह गरेका हुन । उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रहसमेत गरे ।
‘हाम्रो लोकतन्त्र यति उदास छ कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन्’, उनले भने । गृहमन्त्री लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत पूर्वराजालाई चेतावनी दिएका छन ।
उनले भने, ‘हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिष्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन् । यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलियोस् ।’