काठमाण्डू, २४ फागुन– माओवादी केन्द्रले जारी हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान स्थगित गरेको छ ।
माओवादीले राजावादीहरुले संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध प्रहार केन्द्रित गरेको भन्दै तत्कालका लागि अभियान स्थगन गरेको हो । १२ फाुगनमा झापाबाट सुरु अभियान शनिबार रौतहट पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यले जनतामा असन्नोष बढाउने सरकारका क्रियाकलाप र व्यवस्थाविरुद्धका गतिविधिको प्रतिवाद गर्न केही दिनका लागि अभिायन स्थगन गरिएको बताए ।
पार्टीको बैठक बसेर अभियानको हालसम्मको समीक्षा गर्ने र फेरि अर्को तालिका तय गरेर अभियान अघि बढाइने उनको भनाइ थियो । ‘सरकारका एकपछि अर्को जनविरोधी र अलोकप्रिय गतिविधिले जनतामा निराशा बढेको छ । त्यही निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उपयोग गर्न सकिन्छ कि भनेर राजावादी प्रतिगामी शक्तिहरु सल्बलाए’, आचार्यले भने, ‘सरकारलाई खबरदारी गर्न र निरंकुशतावादीहरुको प्रतिवादका लागि पनि केही दिन अभियान स्थगन गर्ने निर्णय भएको छ ।’
उनले वर्तमान सरकारको नेतृत्व र सत्ता गठबन्धनले आफ्नो कमजोरीका कारण व्यवस्थामाथि प्रहार भएको नबुझेको टिप्पणी गरे । ‘गणतन्त्र माओवादीले लडेर ल्याएको व्यवस्था हो । यसको माया माओवादीलाई मात्र छ’, आचार्यले भने, ‘अहिलेकै उपलब्धी बढ भयो भनेर पछाडि फर्कने चाहने सत्तापक्षले व्यवस्थाको रक्षा गर्न सक्दैन, त्यसका लागि हामी अग्रसर बन्नुपर्छ भन्ने हो ।’
अभियानअन्तर्गत शनिबार रौतहटबाट बाराको सिम्रौनगढ प्रवेश गर्ने कार्यक्रम थियो । आचार्यले रौतहटको कार्यक्रम सकेर आजै प्रचण्डसहितका पदाधिकारी काठमाण्डू फर्कने तयारीमा रहेको जानकारी दिए ।