राष्ट्रियसभामा राजावादीको उपस्थिति नहुनु खुसीको कुरा होः कृष्ण सिटौला

काठमाण्डु टुडे २०८१ फागुन २४ गते ११:२२ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभामा राजावादीहरुको उपस्थिति नहुनु खुसीको कुरा भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभामा कांग्रेस दल नेतासमेत रहेका सिटौलाले संसदीय ममिला पत्रकार समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा राजावादीको उपस्थिति नहुनु राष्ट्रिय सभाको सकारात्मक पक्ष भएको बताए ।

संविधान र व्यवस्थाप्रति प्रतिबद्ध व्यक्तिहरु मात्र राष्ट्रियसामा रहेको उनको भनाइ थियो । ‘अहिलेको राष्ट्रिय सभाको राम्रो पक्ष भनेको कम्तीमा यहाँ राजावादी छैनन्,’ सिटौलाले भने, ‘यहाँ राजा चाहिन्छ कि चाँहिदैन भन्ने चिन्ता गर्नु पर्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिबद्ध मान्छे छन् ।’
फरक प्रसंगमा उनले निर्वाचनमा पराजित भएर पनि राष्ट्रियसभामा आएकामा आफूमाथि प्रश्न गर्ने गरेको भन्दै आफूलाई पनि बेलाबेलामा किन आएँ होला भन्ने लाग्ने गरेको उल्लेख गरे ।

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा आफू राष्ट्रियसभामा आएको प्रष्टीकरण सिटौलाले दिए ।

‘हाम्रो पार्टी सभापति र अझ प्रचण्डजीले राष्ट्रियभसामा तपाईंको उपस्थिति नभई भएन भनेर धेरै कर गर्नुभयो’, सिटौलाले भने, ‘मलाई राष्ट्रियसभाको अध्यक्ष बनाउँछु भन्नुभयो, म आएको भोलिपल्ट गठबन्धन टुट्यो ।’

सिटौलाले तत्कालीन रक्षामन्त्रीसमेत रहेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र हालका गृहमन्त्री रमेश लेखकसहित बालुवाटार गएर आफ्नो कारण गठबन्धन टुट्न लागेको भए अध्यक्ष नचाहिंने बताएको पनि उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us