विराटनगर, २४ फागुन–एमाले मोरङको पदाधिकारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पक्षधर सबै उम्मेदवार पराजित भए ।
ओली इतर खेमाका पूर्वकेन्द्रीय सदस्य विनोद ढाकाल खेमाका उम्मेदवारहरु विजयी भए ।
ढकाल पछिल्लो समय पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काउनुपर्छ भन्ने समूहमा छन् । बुधबार भएको निर्वाचनको परिणाम शुक्रबार साँझ घोषणा गरिएको हो ।
अध्यक्षमा ढकाल समूहका अजम्बर राई र संस्थापनका राजकुमार ओझा प्यानलै बनाएर चुनावी मैदानमा भिडेका थिए । राई ४ सय ४६ मतसहित विजयी हुँदा ओझाले ४ सय ७ मत पाए । राईको पक्षमा ढकाल एक्लै थिए ।
ओझाको पक्षमा ओलीसहित उपाध्यक्ष गुरु बराल, प्रदेश इन्चार्ज शेरधन राई, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री भानुभक्त ढकाल, संसदको लेखा समिति सभापति ऋषिकेश पोखरेल खुलेरै लागेका थिए । उनीहरुले ओलीको निर्देशन भन्दै ओझाको पक्षमा प्रतिनिधिहरुसँग मत मागेका थिए ।
यस्तै उपाध्यक्षमा ढकाल पक्षकै सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्ता विजयी भए । महिला उपसचिवमा उषा झा विजयी भइन् ।
उनले ओली समूहकी शिल्पा कार्कीलाई पराजित गरिन् । उषा ४ सय १८ मतसहित विजयी हुँदा शिल्पाले ४ सय ५ मत पाइन् । उषा जिल्ला समन्वय समिति मोरङको उपप्रमुख र शिल्पा विराटनगरकी उपमेयर हुन ।
निर्वाचनको मनोनयन गर्दा गर्नुअघि शिल्पा संस्थापन इतर समूहमा थिइन् । संस्थापन इतरले पनि उनलाई समावेशीतर्फबाट महिला उपमहासचिवको उम्मेदवार बनाएको करिब टुंगो लागेको थियो ।
तर, अन्तिम समयमा ओलीले उनका श्रीमानमार्फत दबाब दिएर समूह परितर्वन गर्न लगाएको एमाले मोरङका एक नेताले बताए । ‘शिल्पाजी पहिला संस्थापन इतर समूहबाटै उम्मेदवार बन्ने तयारीमा हुनुहुन्थ्यो । अन्तिम समयमा पार्टी अध्यक्षबाटै निर्माण व्यवसायमा रहेका उहाँको श्रीमानमार्फत दबाब आएपछि समूह परिवर्तन गर्नुभयो, त्यही कारण उहाँले जित्ने चुनाव हार्नुभयो ।’
शिल्पाले समूह परिवर्तन गरेपछि ढकालले उषालाई अघि सारेका थिए ।