काठमाण्डू, २२ फागुन– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा पौडेललाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरे । मन्त्री पौडेलले आफ्नो मन्त्रालयमा कुनै मधेसी नहरने भनेको आरोप उनले लगाए । सिंहले सचिव बढुवामा वरिष्ठता मिचिएको भन्दै आक्रोश पोखे । वरिष्ठताका आधारमा डा. संगीता मिश्र सचिव हुनुपर्नेमा सरकारले विकास देवकोटालाई स्वास्थ्य सचिव बढुवा गरेकामा उनको आपत्ति थियो । बुधबारको मन्त्रिपरिषद बैठकले देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । डा. मिश्र पनि सचिवको दाबेदार थिइन् । ‘स्वास्थ्यमन्त्रीले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन,’ सिंहले भने, ‘प्रधानमन्त्रीले तुरुनत स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्नुपर्छ ।’
सिंहले सचिव बढुवा हुन नसकेका मिश्रसँग आफ्नो कुनै चिनजान नरहेको दाबी गरे । तर, उनी मधेसीको आस्थाको प्रतीक भएको तर्क सिंहले गरे । ‘संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन’, उनले भने, ‘ संगिता मिश्र मधेसीको आस्थाको एउटा प्रतिक थियो ।’