काठमाण्डू, २२ फागुन– राष्ट्रिय सभाले विभिन्न पाँच अध्यादेश स्वीकृत गरेको छ ।
बिहीबारको राष्ट्रियसभा बैठकले बहुमतले पाँच अध्यादेश स्वीकृत गरेको हो । प्रतिनिधिसभामा सहज बहुमतमा रहेको सत्तापक्ष उपेन्द्र यादव नेतृत्वको जसपाको समर्थन नपाएपछि अल्मपतमा थियो ।
जसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले उक्त अध्यादेश स्वीकृतिका लागि प्रस्तुत नै गरेन । जसपाले समर्थन गरेपछि मात्र राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत हुन सम्भव भएको हो ।
यसअघि प्रतिनिधिसभाले पनि बुधबार ती पाँच अध्यादेश स्वीकृत गरेको थियो । योसँगै सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ । सरकारले ल्याएका ६ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले गत २ माघमा जारी गरेका थिए ।
सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ र निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि स्वीकृत भएको छ ।