अमेरिका पठाउने ५० जना बिचौलियाको सूची प्रहरीसँग

काठमाण्डु टुडे २०८१ फागुन २१ गते १८:०८ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको खुलेको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान कार्य सुरु गरेको छ ।

काठमाण्डूबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना सक्रिय रहेको मानव बेचबिखन ब्युरोका एक जना अधिकृतले जानकारी दिएका छन । ती अधिकृत भन्छन्, ‘उनीहरूबारे अनुसन्धान गरिरहेका छौँ ।’

अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली बुधवार काठमाण्डू आएका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टर उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् ।

एक जना महिला व्यावसायिक उडानमार्फत काठमाण्डू आएकी छन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकन प्रहरी काठमाण्डू आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू जानकारी दिएका छन ।

काठमाण्डूबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । उनीहरू मेक्सिकोबाट सिमानाका पार गरेर अमेरिका पुग्दासम्म ५० लाखदेखि १ करोडसम्म खर्च गरेको भेटिएको छ । बिचौलियाले उनीहरूबाट लाखौँ असुलेको ब्युरोको अनुसन्धान निष्कर्ष रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us