काठमाण्डू, २१ फागुन– प्रधानमन्त्री केपी ओलीलाई हिटलरको संज्ञा दिएर प्रश्न सोध्ने दुई युटयुबरको संघीय संसद सचिवालयले प्रेस पास निलम्बन गरेको छ ।
संघीय संसद सचिवालयले एक महिनाका लागि दुई युट्युबरको पास निलम्बन गरेको हो ।
प्रधानमन्त्रीलाई अमर्यादित प्रश्न सोधेकाले उनीहरुको पास निलम्बन गरिएको सचिवालयका एक अधिकारीले बताए । संसदका महासचिव पदमप्रसाद पाण्डेयले ‘सुनौलो नेपालनामक युट्युमा च्यालनका प्रकाश ओली र युवा मन नेपाल नामको युट्युब च्यालनका किशोरकुमार श्रेष्ठको पास निलम्बन गरेका हुन् । उनीहरुसँग सचिवालयले दिएको संसद् भवन परिसरको मिडिया सेन्टरसम्म जाने पास थियो । सचिवालयले तत्काल पास बुझाउन पनि निर्देशन दिएको छ ।
गत ४ फागुनमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भएर बाहिरिँदै गर्दा उनीहरुले प्रधानमन्त्री ओलीलाई संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा तपाईं हिटलर हो ? भन्ने प्रश्न गरेका थिए । ओलीले त्यस दिन सांसद प्रभु साहको प्रश्नको जवाफ दिन इन्कार गरेका थिए । युट्युबरहरुले सोही विषयमा ओलीसँग प्रश्न सोधेका थिए ।
पत्रकार आचारसंहिता–२०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहेको तर, ओली र श्रेष्ठले पत्रकारिताकको आधारभूत मूल्यमान्यताविपरीत अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलरजस्ता शब्दले प्रधानमन्त्रीलाई सम्बोधन गरेको महासचिव पाण्डेयको निर्णयमा उल्लेख छ ।
ओली र श्रेठ दुवै एमाले निकट व्यक्ति भएको पनि खुलेको छ । श्रेष्ठलाई ०७९ को स्थानीय तह निर्वाचनमा मोरङको उर्लाबारी–६ बाट एमालेले वडा सदस्यको उम्मेदवार बनाएको थियो ।
ओली पनि एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा संगठित छन् ।