राइस कुकर बनाउने बहानामा हनी ट्रयापमा फसाउन खोजेको आरोप लागेकी युवती धरौटीमा रिहा

काठमाण्डु टुडे २०८१ फागुन २० गते १७:२६ मा प्रकाशित

काठमाण्डू, २० फागुन– राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी युवती धरौटीमा छुटेकी छन ।

चितवनको रत्ननगर नगरपालिका–८ घर भइ हाल काठमाण्डू महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाण्डूले आदेश दिएको थियो ।

न्यायाधीश श्यामबिहारी मौर्यको सोमबारको इजलासले आचार्यलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि उनी ४५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका मुद्दाका शाखाका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

आचार्यलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर २४ माघमा सार्वजनिक गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डूलाई पठाइएको थियो । परिसरले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको थियो ।

सरकारी वकिल कार्यालयले उनीविरुद्ध आपराधिक लाभको कसुरमा काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । आपराधिक लाभको कसुरमा अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएकी हुन् ।

उनले कुलेश्वरमा इलेक्ट्रिक सामानहरुको मर्मत गर्दै आएका आलम थरका एक पुरुषलाई राइस कुकर बनाउन आफ्नो कोठामा बोलाएर फसाउन खोजेको आरोप लागेको थियो ।

आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक–पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको थियो ।

कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै धम्क्याएको आरोप छ ।

१० लाख रुपैयाँमा माग गरेकोमा पछि आलम थरका व्यक्तिले आचार्यलाई ३ लाखको चेक काटेर समेत दिएको प्रहरीको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us