तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन: झलनाथ खनाल

काठमाण्डु टुडे २०८१ फागुन २० गते १३:२८ मा प्रकाशित

काठमाण्डू, २० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन ।

आज (मंगलबार) धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन । उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण कुनै सम्भावना नरहेको पनि बताएका छन ।

उनले भने, ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ, ‘इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’

एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताएका छन । उनले भने, ‘आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन, अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ?’ खनालको प्रश्न छ ।

फरक प्रसंगमा खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाए । जसको पछिल्लो उदाहरण कही समय अघि जारी भएको अध्यादेश रहेको पनि बताएका छन ।

संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानुन बनाउने कुरामा कसैको पनि अवरोध नगरेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us