काठमाण्डू, २० फागुन– ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरहरि रेग्मीले जानकारी दिएका छन । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।
तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको पनि उनले जानकारी दिए । प्रवक्ता रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको जानकारी दिए ।
तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले जानकारी दिएका छन । ‘त्यहाँ अलि सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको छ,’ रेग्मीले भने ।
एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी रहेको छ ।