कम्युनिष्ट एकता गर्न ओलीलाई एउटै मञ्चबाट विद्याको आग्रह

काठमाण्डु टुडे २०८१ फागुन १९ गते २०:२३ मा प्रकाशित

काठमाण्डू, १९ फागुन- पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई कम्युनिस्ट ध्रुवीकरणको दिशामा योगदान गर्न सुझाव दिएकी छन् ।

केपी शर्मा ओली सपना, संघर्ष र संकल्प नामक पुस्तक लोकार्पण कार्यक्रममा सोमबार भण्डारीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन भूमिका खेल्न ओलीलाई सुझाएकी हुन् ।

भण्डारीले त्यसो भनिरँदा ओली पनि कार्यक्रमको मञ्चमै थिए । राष्ट्रपति बन्नुअघि एमाले उपाध्यक्ष रहेकी भण्डारी पछिल्लो समय सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् ।

भण्डारीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा, उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले ऐतिहासिक र सराहनीइ भूमिका निर्वाह गरेको बताइन् ।

भविष्यमासमेत यस किसिमको रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न ओलीबाट योगदान हुने विश्वास उनले व्यक्त गरिन् ।

एमालेका तमाम नेता कार्यकर्ताले ओलीबाट त्यस्तो राजनीतिक अपेक्षा गरेको बताइन् । ‘मलाई लाग्छ, पार्टीका समस्त नेता तथा कार्यकर्ताको उहाँबाट अपेक्षा पनि यस्तै राजनीतिक सिर्जनात्मकतामा रहेको हुनुपर्छ,’ उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us