केपी ओली कपः सञ्चारकर्मीहरूले पाएनन् प्रवेश, गेटमै रोकियो

काठमाण्डु टुडे २०८१ फागुन १९ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– आज सोमबार जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । साँझ ६ बजेदेखि हुने फाइनल हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला प्रवेश गरेका थिए ।

तर फाइनल खेलको व्यवस्थापनमा भने विजोग दृश्य देखिएको छ । रंगशालाको क्षमताभन्दा धेरै बढी पासहरू बाँडेका कारण रंगशाला दिउँसै भरिँदा अझै पनि धेरै दर्शकहरू रंगशाला बाहिर छन् भने सञ्चारकर्मीहरूलाई पनि भित्र जान दिइएको छैन । रंगशाला प्रवेश गर्ने सबै गेटहरूमा सुरक्षाकर्मी खटाइएको छ ।

पास भएर पनि भित्र जान नपाउँदा दर्शकहरू आक्रोशित छन् भने सञ्चारकर्मीहरूलाई पनि आयोजकले केही जानकारी नगराएको भन्दै बाहिरै रोकिएको छ । केही सञ्चारकर्मीहरू धकेलाधकेलकै बीचमा भित्र प्रवेश गरेका छन् ।

उनीहरूलाई प्रहरीले धकेलाधकेल गर्दै दुस्ख दिएको बताइरहेका छन् । मैदानभित्रको माहोल ठिकै देखिएपनि बाहिरको दृश्य भने विपरित छ । रंगशाला बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

दर्शकहरू पनि बाहिरै छन् । त्यही भीडले गर्दा सञ्चारकर्मीहरूले पनि प्रवेश पाएका छैनन् । सुरक्षाकर्मीले रंगशाला भरिइसकेको भन्दै सबैलाई मनाही गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us