काठमाण्डू, १९ फागुन– आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको बिषयलाई लिएर रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विपक्षी दल निकट विद्यार्थी संगठनहरूले क्याम्पसमा तोडफोड गरेका छन् ।
विभिन्न माग राखेर निर्वाचन आयोगको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका विद्यार्थी संगठनले माग पूरा नगरी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै सोमबार क्याम्पसको हलमा तोडफोड गरेका हुन् ।
आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय देशव्यापी रूपमा तोकिएको थियो । संगठन दर्ताकै लागि एमाले निकट विद्यार्थी संगठनले तयारी र छलफल गरिरहँदा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनको समूहले हल तोडफोड गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति विद्यार्थी संगठनहरूसँग बैठक बसिरहेका बेला अन्य संगठनले दर्ता गर्न माग गरिरहेका थिए ।
बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले जानकारी दिएका छन । विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् ।
विद्यार्थीहरूले क्याम्पस प्राङ्गणमा टायर बालेर विरोध समेत जनाएका छन् । विपक्षी विद्यार्थी संगठनहरुले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आए पनि त्यो नगरेर निर्वाचनको प्रक्रियामा गएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।