काठमाण्डू, १८ फागुन– आज (आइतबार) बसेको राष्ट्रिय सभाको बैठकले एक पटक चार ओटा विधेयकहरु पारित गरेको छ ।
आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ ।
यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो । अब यो विधेयक प्रतिनिधि सभामा जान्छ । यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।
भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् । यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् ।
राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः पारित गरेको हो । एउटा सभामा उत्पति भएको विधेयक अर्को सभाबाट पारित भएर पुनः फर्किन्छ ।
अर्को सभामा भएको संशोधन सम्बन्धित सभाले स्वीकार गरेपछि सदनको प्रमुखले प्रमाणित गर्छन् । त्यसपछि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ ।