नेहा र सत्येन्द्रको बिहेसम्बन्धी मुद्दामा हस्तक्षेप भएको छैनः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– गृहमन्त्री रमेश लेखकले नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने बताएका छन । आज आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नेहा र सत्येन्द्रको विवाह सम्बन्धी मुद्दामा राज्य पक्षबाट हस्तक्षेप नभएको पनि बताएका छन ।

गृहमन्त्री लेखकले भने, ‘यस विषयमा मुलुकी अपराध संहिता २०७४ को कानूनी व्यवस्था अनुरुप भएको अनुसन्धान र कारवाहीको विषयमा नेपाल प्रहरीले सार्वजनिक रुपमा जानकारी गराइसकेको छ । यस मुद्दामा राज्य पक्षबाट हस्तक्षेप भएको छैन । नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यो घटनालाई लिएर आफ्नो समेत आलोचना भएको बताउँदै उनले भने, ‘अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय गम्भिर र अत्यन्तै संवेदनशील रहेको छ ।’

सर्लाही बरहथवाका सत्यन्द्र राम (चमार) र नेहा रौनियारबीच प्रेम बिहे भएको थियो । तर उनीहरुलाई छुट्याउन गृह प्रशासन समेत लागेको भन्दै मन्त्री लेखकको आलोचना भएको थियो । यसै सन्दर्भमा मन्त्री लेखकले ‘अन्यथा टिप्पणी’ गर्नुलाई आफूले आफ्नो जीवन, मूल्य र आदर्शको अवमूल्यन हो भन्ने ठानेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us