ट्रम्पले ह्वाइट हाउसबाट निकालेपछि जेलेनेस्कीले एक्समा लेखेः धन्यवाद अमेरिका

काठमाण्डु टुडे २०८१ फागुन १७ गते ९:२५ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा चर्को भनाभनपछि अपमानजनक रुपमा ह्वाइट हाउसबाट बाहिरिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र ट्रम्पलाई धन्यवाद दिएका छन् ।

ह्वाइट हाउसमा शुक्रबार भएको छलफलमा ट्रम्प र उनका उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएको थियो । भनाभनपछि टरम्पले ह्वाइट हाउस छाड्न जेलेनेस्कीलाई आदेश दिएका हुन् ।

ह्वाइट हाउसबाट बाहिरिएलगत्तै जेलेन्स्कीले एक्समा लेख्दै सहयोगका लागि अमेरिका र राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए । ‘तपाईंहरूको सहयोगका लागि धन्यवाद अमेरिका’, उनले लेखेका छन् । युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिएको भन्दै जेलेनेस्कीले आफूहरु त्यसका लागि प्रयासरत रहेको बताए ।

जेलेनेस्की खनिजसम्बन्धी सम्झौताबारे वार्ता गर्न ट्रम्पकै निम्तोमा ह्वाइट हाउस पुगेका थिए । जेलेनेस्कीले रुस–युक्रेन युद्धअघि पनि रुसले युक्रेनी नागरिकलाई मारेर आफनो भूमि अतिक्रमण गर्दै आएको भन्दै बाराक ओबामा, ट्रम्प र जो बाइडेनले त्यसलाई रोक्न पहल नगरेको भन्दै असन्तुष्टि जनाए ।

जवाफमा उपराष्ट्रपछि भान्सले रूस–युक्रेन युद्ध रोक्न राष्ट्रपति ट्रम्पले कूटनीतिक पहल गरिरहेकामा जेलेनेक्सीले धन्यवाद दिनुपर्नेमा उल्टै दोषारोपण गरेको बताए । त्यसपछि तीन जनाबीच भनाभन भयो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सार्वजनिक भएको भिडियोमा ट्रम्पले धेरैपटक ठूलो स्वरमा नबोल्न जेलेनेस्कीलाई चेतावनी दिएको सुनिन्छ ।

भेटघाटमा अप्रिय भनाभनपछि अमेरिकी अधिकारीहरुले जेलेनेस्की र उनको भ्रमण दलका सदस्यहरुलाई ह्वाइट हाउसबाट तत्काल बाहिरिन आदेश दिएका थिए ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार जेलेनेस्की निराश मुद्रामा ह्वाइट हाउसबाट बाहिरिएका छन् । उनी ह्वाइट हाउसबाहिरबाट गाडी चढेर हिंडेको भिडियोमा देखिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us