काठमाण्डू, १६ फागुन– एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताएका छन ।
आज (शुक्रबार) एमाले पेसागत विशेष जिल्ला कमिटीले काठमाण्डूमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताए विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको बताएका हुन ।
उनले भने, ‘वि.सं ०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन ।
कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो ।’
उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठुला राजनीतिक दल मिलेर काम गर्न थालेको बताएका छन ।