काठमाण्डू, १६ फागुन– सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछि काठमाण्डूमा भागदौड हुँदा दुई जना घाइते भएका छन ।
भागदौडमा उदयपुरको त्रियुगा नगरपालिका १० घर भइ हाल काठमाण्डूमा शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ घाइते भएका छन ।
भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर उनी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन । घाइते थिलिङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको उनले जानकारी दिए ।
त्यसैगरी अर्का घाइतेमा नवलपरासीको मध्यबिन्द् नगरपालिका–५ घर भई नयाँ बानेश्वर बस्दै आएका २६ वर्षीय हरि गैरे छन् । होस्टलमा बस्दै आएका उनी भूकम्पको धक्का आएपछि भागदौड गरेका थिए । सो क्रममा उनी घाइते भएका हुन् ।
उनको सिभिल अस्पतालमा उपचार भइरहेको एसपी बोहोराले जानकारी दिए । शुक्रबार बिहानीपख २ः५१ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाण्डू उपत्यकामा पनि महसुस भएको थियो ।