नेपालमा कर तिर्ने संस्कृति छैनः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १७:२३ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– एमाले महासचिव शंकर पोखरेलले नेपालीले राज्यलाई कर तिर्ने बानी कमजोर भएको बताएका छन । आज बुधबार नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा काठमाण्डूमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले कर तिर्नेभन्दा नतिर्नेको जमात बढी रहेको बताएका हुन ।

उनले भने, ‘राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर छ । कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन ।’ पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए । नेपालीको बचत संस्कृति अति कमजोर भएको पनि उनले बताएका छन ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको बताए । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको पनि उनले बताएका छन । फरक प्रसंगमा पोखरेलले राजनीतिक दल भित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको पनि बताए ।

‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ’, उनले भने ।

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताए । ‘काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने, अन्त कतै यस्तो हुन्छ रु, के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us