मोटरसाइकल चोरीमा संलग्न ३ जना प्रहरीको नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई काठमाण्डूको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल काठमाण्डूको जोरपाटी बस्ने १८ वर्षीय रवि कुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका ६ घर भई हाल काठमाण्डूको नयाँबस्ती बस्ने १९ वर्षीय मनिष थापा मगर र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका १ घर भई हाल काठमाण्डूको नयाँपाटी बस्ने २० वर्षीय विशाल तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई हिजो साँझको समयमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर प्रदेश २९०२९००४ प ६६५० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२९०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा हिजो साँझ ५ बजे चौधरीलाई काठमाडौँको चाबहिल गंगाहिटीमा फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी गराउनसाथ तामाङलाई पनि काठमाडौँको जोरपाटी नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको छ ।

उक्त मोटरसाइकल काठमाण्डूको नरेफाँटबाट हराएको भनी नरेफाँट बस्ने सोनु कारकले काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us