म्याग्दीमा दर्शनार्थी चढेको भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १४:३२ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

म्याग्दीको नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना भएको हो ।

भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा.६च ४९४४ नम्बरको भ्यान बिहीबार सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जानकारी दिएको छ ।

सरिताको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिएका छन ।

अधिकारीले दुर्घटनामा गम्भीर घाइते रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us