केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरका चारै ढोका खुला

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला गरी पूजा र दर्शनको व्यवस्था गरीएको छ ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन ।

बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेको पनि उनले जानकारी दिएका छन । महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनहाँले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाकका लागि सुरक्षाकर्मीको व्यवस्था, स्वास्थ्य शिविरको आयोजना तथा मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको समेत उनले जानकारी दिएका छन ।

यसैगरी लाइन बसेको आधा घण्टामा पूजाको व्यवस्थापनलाई प्रभावकारी बनाइएको सूर्यविनायक–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । उनका अनुसार शिवरात्रिका लागि यसवर्ष करिब तीन सय साधुसन्त र बाबा आएका छन ।

यसैगरी, महाशिवरात्रि पर्वको अवसरमा आज प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको घुइँचो लागेको छ । मनले चिताएको आशा पूरा हुने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us