विराटनगर, १४ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ ‘सिफ्ट’ भएको बताएका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कोशी प्रदेशको प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै बुधबार उनले यस्तो धारणा राखेका हुन् ।
पार्टीको गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको बताए ।
यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए ।
पार्टीकै अर्को निर्णयअनुसार जनतासँग माओवादी तराई मधेस जागरण अभियान थालिएको पनि उनले बताए ।
अभियानको क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, शहीद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गएको दाबी गरे ।
हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरुले जनयुद्धमार्फत् उनीहरूका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्गकेन्द्रित अभियान थालिएको उनले स्पष्ट गरे ।
आगामी वैशाखमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताए ।
यो अभियान स्वरूप र सन्देश दुवै हिसाबले मौलिक हुने र यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने दाबी उनले गरे ।
भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको चुनावले पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्थापित गरेको उल्लेख गर्दै उनले यसले अरू विद्यार्थी संगठन भन्दा अखिल क्रान्तिकारीलाई नयाँ उचाइमा पुर्याठउने बताए ।
देशभर पार्टीको पक्षमा माहोल बनिरहेको र पछिल्लो स्थानीय तह उपनिर्वाचले माओवादीलाई कोशी प्रदेशमा पहिलो पार्टी बनाएको उल्लेख गर्दै प्रचण्डले आगामी स्ववियु निर्वाचनमा पनि अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाउन निर्देशन दिए ।