ओली भ्रष्टाचारी संरक्षण गर्न प्रधानमन्त्री बनेका हुन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १०:०२ मा प्रकाशित

विराटनगर, १४ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठन भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भएको आरोप लगाएका छन् ।

हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानका क्रममा विराटनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूनिकटका भ्रष्टाचारीको संरक्षण गर्न केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेको बताए ।

आफू नेतृत्वको सरकारले भ्रष्टचारी र राज्य दोहनमा संलग्नमाथि कारबाही अघि बढाएपछि आत्तिएका काँग्रेस र एमालले रातारात गठबन्धन गरेको आरोप उनको थियो ।

‘हामीले सुशासन कायम गर्न भ्रष्टाचारीविरोधी अभियान सुरु गरेपछि भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले अहिलेको सरकार बनेको हो’, प्रचण्डले भने ।
प्रचण्डले आफूहरु सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई देशव्यापी बनाउन आफूहरुले हुलाकी राजमार्ग केन्द्रित अभियान थालेको बताए ।
माओवादी केन्द्रले सोमबारदेखि झापाबाट एक महिने तराई मधेस जागरण अभियान सुरु गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us