मोरङ, १३ फागुन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सत्तारुढ दलहरु जनताको अधिकार थप गर्नुको साटो भएको अधिकार पनि कटौती गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा मंगलबार आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले उक्त षडयन्त्रविरुद्ध जनतालाई सचेत बनाउँदै आवश्यक परे संघर्षमा उत्रने चेतावनी दिए ।
उत्पीडित वर्गको पक्षमा संघर्षको नेतृत्व माओवादीले गर्ने उल्लेख गर्दै उनले यो अभियान त्यसका लागि सचेतना अभियान पनि भएको उल्लेख गरे ।
हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सकिएपछि वैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु हुने र दुबै अभियान सकिदासम्म जनताले थप अजयशक्ति प्राप्त गर्ने दाबी उनको थियो । प्रचण्डले जनताको अधिकार विरुद्ध जस्तो जस्तोसुकै षड्यन्त्रलाई पनि परास्त गर्ने बताए ।
कार्यक्रममा काँग्रेस, एमाले, जसपा लगायत दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराए ।
पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरुमाथिको विभेद विरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने बताए ।
दक्षिणी भेगमा बसोबास गर्ने जनताले विविधखाले समस्या व्यहोरिरहेको उल्लेख गर्दै उनले देशको सिमा रक्षकको रुपमा रहेका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । दक्षिण क्षेत्रका जनताले डुबान र कृषि मलको समस्या व्यहोरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस क्षेत्रका आदिबासी समुदायको पहिचानको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए ।
यस्तै उत्पीडित क्षेत्रका जनसमुदायको मुक्तिका लागि महान जनयुद्ध भएको स्मरण गराउँदै उनले नयाँ संविधानमार्फत धेरै समस्यालाई नीतिगत रुपमा सम्बोधन गरिए पनि व्यवहारिक कार्यान्वयनमार्फत जनताको अवस्था बदल्दै आवश्यक परे संविधान संशोधनमार्फत उत्पीडित समुदायको अधिकार थप्दै लैजाने बताए ।