देश तीव्र गतिमा विकास भइरहेको छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ फागुन १३ गते १६:३२ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन ।

आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भएका प्रगतिलाई स्वीकार्नुपर्ने भन्दै अझै धेरै काम गर्न बाँकी रहेको पनि बताएका छन ।

उनले आफूले तीन वर्ष प्रधानमन्त्री रहँदा असाधारण परिवर्तन गरेको दाबी गर्दै त्यसपछि बनेका सरकारहरू विकास निर्माणका कामलाई अघि बढाउन नसक्दा समृद्धि रोकिएको पनि बताएका छन ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुको प्रमुख उद्देश्य विगतमा रोकिएका विकास परियोजनाहरूलाई पुनः अगाडि बढाउनु भएको पनि प्रधानमन्त्री ओलीले बताएका छन । उनले देशमा सुशासन र विकासको गति तीव्र पारेको पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ। म दावाका साथ भन्छु, तीन वर्ष म प्रधानमन्त्री हुँदा असाधारण परिवर्तन भयो। त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन ।

अहिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएका छौँ, किनभने देश अफ्ठ्यारो अवस्थामा पुगेको छ। देशलाई अधोगतितिर होइन, सुशासन र विकासको बाटोमा अघि बढाउनुपर्छ ।’

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, बिजुली, सञ्चार लगायतका क्षेत्रमा समुचित विकास हुनुपर्नेमा जोड दिए। साथै, विज्ञान र प्रविधिको उपलब्धिहरू नेपाली जनताले सहज रूपमा उपयोग गर्न सक्नुपर्ने बताए। ओलीले अझै पनि २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै आर्थिक समृद्धि आवश्यक रहेको बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us