काठमाण्डू, १३ फागुन– यस बर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ ।
यस बर्ष एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षा गरीएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको थियो ।
कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले भने, ‘नौ वटा विषयगत उपसमिति गठन गरिएको छ, उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ, व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउनमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ ।’
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमारसहितका देशबाट भक्तजन आइरहेका छन्। व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्न बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ ।
उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली सुरक्षाका लागि परिचालन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आफ्नो सुरक्षा टोली पनि रहने छ ।’
त्यसैगरी स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ। मन्दिर परिसरमा साधुसन्तको व्यवस्थापन गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ।