काठमाण्डू, १३ फागुन– कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद खतिवाडाले यस्तो बताएका हुन । उनले काठमाण्डूबाट ओखलढुंगा जाने क्रममा मंगलबार बिहान भएको बस दुर्घटनामा परि १८ जना घाइते भएको उल्लेख गर्दै यस्तो माग गरेका हुन ।
उनले भने, ‘बेला बेला सडक दुर्घटनाबाट मान्छेहरू घाइते भएर आउने सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौँ बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निःशुल्क उपचार गर्न माग गर्दछु।’ उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको पनि बताएका छन ।