
झापा, १२ फागुन- पार्टीले सोमबारदेखि झापाबाट थालेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस अभियानको उदघाटन समारोहमै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बिच्किएका छन् ।
नेपालकै सबैभन्दा होचो स्थान झापाको केचनकवलबाट सुरु अभियानको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले उदघाटन गरे ।
प्रचण्डभन्दा अघि सभालाई सम्बोधन गर्ने पालो थियो वरिष्ठ उपाध्यक्ष श्रेष्ठको । श्रेष्ठ बोल्दै थिए, कार्यक्रम सञ्चालक माओवादी झापाका संयोजक राजु आचार्य उर्फ अग्नि उनको नजिकै उभिन पुगे । अग्नि नारायणकाजीलाई मन्तव्य छोट्याउनका लागि कान फुक्न गएको जस्तो देखिन्थ्यो ।
आफ्नो नजिकै कार्यक्रम सञ्चालक उभिएको देखेपछि श्रेष्ठ झोक्किए । उनले मन्तव्य रोकेर किन उभिएको भन्दै अग्निसँग प्रश्न गरे । ‘सक्नुस् भन्न आउनु भा हो ?’ भन्दै श्रेष्ठ अग्निसँग कड्किए । उनले डराएको शैलीमा होइन भने । तर, श्रेष्ठले थप बोल्न चाहेनन् ।
आफू थोरै बोल्ने मनसायका साथ मञ्चमा उभिए पनि सञ्चालकले धेरै नै समयको चाप भएजस्तो गरेकाले आफू बिदा हुने भन्दै मन्तव्यलाई बीचैमा बिट मारे ।
उदघाटन समारोहपछि सोमबारै झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारीसभा श्रेष्ठले बहिस्कार गरेका छन् । प्रचण्डसअघि अधिकांश पदाधिकारी उपस्थित उक्त कार्यक्रममा श्रेष्ठ गएनन् ।