ठमेलमा प्रहरी कुट्ने एमाले विद्यार्थी नेता रिहा

काठमाण्डु टुडे २०८१ फागुन १२ गते २०:४७ मा प्रकाशित

काठमाण्डू, १२ फागुन- काठमाण्डूको ठमेलमा प्रहरीमाथि कुटपिट गरेको प्रकरणमा पक्राउ परेका सरकार नेतृत्वकर्ता एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता रिहा भएका छन् ।

जिल्ला अदालत काठमाण्डूका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका अखिल स्थाटी कमिटी सदस्य कमलराज जोशीसहित सबै पाँचै जनालाई धरौटीमा छाड्न सोमबार आदेश दिएको हो ।

अदालतको आदेशपछि धरौटी बुझाएर उनीहरु सबै रिहा भएका प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये रमेश फुलारालाई १५ हजार तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जोशी नेतृत्वको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) टोलीका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि गत २४ माघको राति कुटपिट गरेको थियो ।

कुटपिटबाट चौधरी र विष्ट घाइते भएका थिए भने प्रहरीको मोटरसाइकल तोडफोड भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us