काठमाण्डू, १२ फागुन– आगामी बर्षको महाशिवरात्रि पर्व आउन २ दिन बाँकी रहँदा पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल ह्वातै बढेको छ ।
महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम बढेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
सोमबार बेलुकासम्म साधुसन्त पशुपति क्षेत्रमा आउनेक्रम जारी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ ।
त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ । सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध गरेको छ भने पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ ।
शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ ।
पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भोजन र धुनीको व्यवस्था मिलाइएको साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमितिका संयोजक डा। भरतप्रसाद बडालले जानकारी दिएका छन ।