काठमाण्डू, १२ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार बोल्न आवश्यक रहेको बताएको छ ।
पार्टीका तर्फबाट सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले सरकार मौन रहन नहुने बताएका छन । उनले भने, ‘दुई देशको बीचको समझदारी अनुसार, सम्झौता अनुसार लागू गरिएका योजनाहरूलाइ एक पक्षीय ढंगले अमेरिकाले स्थगित गर्नु र फ्रड भन्ने कुरा वास्तवमा कुटनीतिक मर्यादा विपरीत छ । यसका सन्दर्भमा नेपाल सरकार बोल्न जरुरी छ । यसका बारेमा मुख खोल्न जरुरी छ ।’
जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेसँग सम्बन्धित थियो । केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग ९डज०ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको छ ।
डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम पनि रोकेको छ । राष्ट्रपति ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण दिने क्रममा फ्रड भनेका हुन् ।
डजले नेपाललाई वित्तीय संघीयताका लागि र जैविक विविधता संरक्षणका लागि सहयोग दिँदै आएको थियो । यसैलाइ ट्रम्पले ‘फ्रड’ भनेका हुन् । यसबारे नेपाल सरकारले आधिकारिक रुपमा कुनै पनि प्रतिक्रिया जनाएको छैन ।