ठमेलमा प्रहरी कुट्ने अखिल नेता विरुद्ध १४ दिनमै मुद्दा दर्ता

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– जिल्ला अदालत काठमाण्डूमा ठमेलमा प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताविरुद्धको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता भएको अदालत स्रोतले जानकारी दिएको छ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनालाई प्रतिवादी बनाइएको स्रोतले जानकारी दिएको छ । सामान्यतया प्रहरीले यस्तो कसुरमा २४ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्ने भए पनि सत्तारुढ दलनिकट विद्यार्थी संगठनका नेता जोशीको फाइल भने प्रहरीले दुई साता नपुग्दै अघि बढाएको थियो ।

जोशीका साथै गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको हो । उनीहरु मध्ये सौजन्य भने फरार छन् । उनलाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाउँदै अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको हो ।

पहिलो पटक अभद्रको कसुर गरेकाको हकमा जिल्ला प्रशासन कार्यालय र दोस्रो पटकदेखि कसुर गरेकाको हकमा भने अदालतले मुद्दा हेर्ने व्यवस्था भएकोले सोही अनुसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन । अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाही भने पटके कसुरदार हुन् ।

उनीहरुविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरमा समेत मुद्दा चलेको थियो ।यो मुद्दाको पेसी काठमाण्डू जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासमा परेको छ ।

यो समूहले २४ माघको राति ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us