काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन ।
आज (सोमबार) जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्र्तगत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरूको भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने पनि बताएका छन । कोच, शेर्पा लगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उनले बताएका छन ।
अध्यक्ष प्रचण्डले जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई तस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताएका थिए ।
बिचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि बताएका छन । उनले अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाए जस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भने उत्पीडित समुदायलाई बलियो बनाएर मात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको बताए । त्यसका लागि उत्पीडित वर्ग र समुदाय पनि थप एकताबद्ध र बलियो बन्नुपर्ने बताए ।