काठमाण्डू, ११ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएका छन ।
आज (आइतबार) प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डिपी अर्यालले यस्तो चुनौती दिएका हुन् । उनले भने, ‘दुई दलको दम्भले होइन निति र विधिबाट छानबिन गरौं ।
त्यसपछि थाहा हुन्छ, आफ्नालाई नजोगाएर देखाउ अनि थाहा हुन्छ हामीले किन छानबिनको माग गरेका छौं ।’ उपसभापति अर्यालले राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरूको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन पनि माग समेत गरेका छन ।
उनले भने, ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन म आग्रह पनि गर्दछु ।’ तर, सरकार सत्तारुढ दलका नेता जोगाउनेमा केन्द्रित रहेको दोहोर्याए ।
उनले भनेका छन्, ‘सहकारीको प्रतिशोध हो कि होइन भन्ने विषय आफ्ना नेताहरूमाथि छानबिन सुरु गरौं त्यसपछि थाहा हुन्छ, प्रमाणित हुनेछ,’ उनले भने । आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भएको उनले बताए ।
यसको आधारमा सत्तारुढ दलका नेतामाथि छानबिन नहुने प्रवृति नै रहेको उनको भनाइ छ । संसदमा प्रश्न उठेपछि आफ्नो पार्टीका सभापतिमाथि छानबिन समिति बनेको उनले स्मरण गरे ।
‘बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रहरी महानिरीक्षकबाटै समेत संलग्नता छैन भन्दा भन्दै पनि सदनमा प्रश्न उठेपछि हामीले हाम्रो पार्टीको सभापतिबारे छानबिन तयार भयौं ।
हाम्रो पार्टीको सभापतिमाथि छानबिन भयो र हामी आदालततिर कानुनी लडाईंमा छौं,’ उनले भने ।