रिंकु मृत्यु प्रकरणः आठ जना प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– प्रहरीले सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै ८ जनालाई नियन्त्रयामा लिएको छ ।

छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन । नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत रहेको उनले जानकारी दिए ।

अवस्था हेरेर छाड्ने सकिने तथा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले जानकारी दिएका छन । उनले भने, ‘अहिले सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा लिएका छौं ।

उनीहरूमाथि अनुसन्धान हुँदैछ । अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ ।’ एसएसपी कोइरालाका अनुसार नियन्त्रणमा रहेकाहरू कोहीविरुद्ध पनि जाहेरी आएको छैन ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । यो घटनामा ८ जनाविरुद्ध प्रहरीमा जाहेरी आएको छ । जसमा रिंकलाई राती वेपत्ता पार्ने तीन जनादेखि पञ्याती बसेर घटना दबाउनेहरू छन् ।

रिंकुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि अहिलेसम्म रिपोर्ट नआएको कोइरालाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us