काठमाण्डू, १० फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीप्रति लगाइने आरोपहरू निराधार भएको बताएकी छन ।
आज (शनिबार) काठमाण्डूको प्रर्दशनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा आयोजित आफ्नो ‘करुण’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले प्रधानमन्त्री ओली मेहनती र कर्मठ व्यक्ति भएको पनि बताएकी छन ।
उनले भनिन्, ‘कतिपयले उहाँलाई लाञ्छना लगाउँछन् । मलाई लाग्छ, यस्ता कुरा गरेर हाम्रो दिमागलाई त्यसमा अल्झाउनु हुँदैन। यसले आफैँलाई हानी पुर्याउँछ ।’ प्रधानमन्त्रीलाई अल्छी भन्नेहरू गलत भएको उनको दाबी छ ।
‘उहाँलाई मन नपराउनेहरूले भन्छन्- उहाँ एक अल्छी व्यक्ति हो, एउटा सिन्को पनि सार्दैनन् । मैले पनि यस्ता कुरा सुनेकी छु। तर, म भन्न चाहन्छु— उहाँ धेरै काम गर्ने व्यक्ति हो । हिजो बिहानदेखि आज बिहान ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त हुनुहुन्थ्यो ।
अब उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ? मेरो विचारमा उहाँजस्तो सक्रिय व्यक्ति सायदै विश्वमै होला,’ शाक्यले भनिन् । उनले सामाजिक सञ्जालमा आउने निराधार आरोपहरूको पछि नलाग्न आग्रह गर्दै भनिन्, ‘सामाजिक सञ्जालमा आएका आरोपहरूको खण्डन गर्ने हो भने त आजभरि समय नै पुग्दैन ।’
शाक्यले ३७ वर्षअघि प्रधानमन्त्री ओलीसँग विवाह गर्ने निर्णय कुनै राजनीतिक महत्त्वाकाङ्क्षा नभएर करुण भावनाबाट प्रेरित भएको स्पष्ट पारिन् । ‘केपी ओलीसँग विवाह गर्ने मेरो निर्णय करुण भावनाबाट आएको थियो ।
उहाँ कुनै दिन मन्त्री वा प्रधानमन्त्री हुनुहुन्छ भनेर सोचेर मैले विवाह गरेकी होइन । धेरै चुनौतीका बाबजुद पनि करुण भावनाले जित्यो । त्यसैले पुस्तकको नाम ‘करुण’ राखेकी हुँ,’ उनले भनिन् ।
उनले प्रधानमन्त्री ओली चार पटक प्रधानमन्त्री बन्न सफल हुनुमा आफ्नो पनि भूमिका रहेको बताउँदै भनिन्, ‘उहाँको सफलतामा मेरो पनि केही न केही योगदान छ। सबैको सहयोगमा उहाँले यो यात्रा तय गर्नुभएको छ ।’
शाक्यले लामो समय राष्ट्र बैंकमा सेवा गरेको अनुभव सुनाउँदै भनिन्, ‘मैले ३०र३० वर्ष राष्ट्र बैंकमा सेवा गरेँ ।
उहाँ (ओली) पनि २०४८ सालदेखि लगातार सांसद हुनुहुन्छ।’ उनले राष्ट्र बैंकमा राम्रो सेवा सुविधा भए पनि आफूहरूले मेहनत गरेर मात्र घर बनाउन सफल भएको सुनाइन्।