अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय

काठमाण्डु टुडे २०८१ फागुन १० गते १६:४१ मा प्रकाशित

काठमाण्डू, १० फागुन– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो केन्द्रीय कार्यालयको स्थापन गरेको छ ।

गत वैशाखमा उपेन्द्र यादव नेतृत्वबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए । १२ जना सांसदमध्ये सात जना सांसद लिएर जसपा गठन गरेका राईले ललितपुरको ग्वार्कोमा पार्टी कार्यालय स्थापना गरेका हुन् ।

सो पार्टी कार्यालयको भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका महासचिव इस्तियाक राईले बताए ।

उनले भने, ‘पार्टी गठन गरेपछि पार्टी कार्यालयका लागि विभिन्न ठाउँमा घर हेर्ने काम भयो तर विभिन्न कारणले कुरा मिलिरहेको थिएन । अहिले ग्वार्कोमा पार्टी कार्यालय स्थापना गर्ने भएका छौँ, भोलि त्यसको उद्घाटन छ ।’

पार्टी कार्यालय उद्घाटन भएपछि त्यही कार्यकारिणी समितिको बैठक पनि बस्ने भएको छ ।

कार्यकारिणी समितिको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था संगठन निर्माण लगायतको विषयमा छलफल हुने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us