भारतीय विदेश मन्त्रालयले भन्योः नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकतामा

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १९:५० मा प्रकाशित

काठमाण्डू, ९ फागुन– भारतको विदेश मन्त्रालयले ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा मुख खोलेको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले नेपाली छात्राको दुःखद निधनबाट आफूहरु धेरै मर्माहत भएको बताए ।

पत्रकार सम्मेलनमा उनले मृतकप्रति श्रद्धासुमन र परिवारमा गहिरो समवेदना प्रकट गरे । उनले नेपाली विद्यार्थीको सुरक्षा भारतको प्राथमिकतामा रहेको बताए । भारतले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
जयसवालले विदेश मन्त्रालयले नेपाली अधिकारी, ओडिशा राज्य सरकार र केआईआईटी कलेज प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिए ।

ओडिसा सरकारले असुरक्षाका कारण छात्राबास छाडेर हिंडेका नेपाली विद्यार्थी स्वदेश फर्काउन पहल गरिरहेको भन्दै उनीहरु केही दिनभित्रै नियमित शैक्षिक गतिविधिमा संलग्न हुने विश्वास व्यक्त गरे । उनका अनुसार त्यहाँको स्थानीय प्रहरीले नेपाली विद्यार्थीलाई सहयोग गर्न २४घण्टा हेल्पलाइन सञ्चालन गरिरहेको बताए । रुपन्देहीकी २० वर्षीया छात्रा प्रकृति क्याम्पसको छात्राबासमा मृत फेला परेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us