काठमाण्डू, ६ फागुन- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु सुमना श्रेष्ठ र सोविता गौतमलाई संसदमा बोल्न समय नदिएको आरोप सत्य नभएको दाबी गरेका छन् ।
सभामुखको सचिवालयले गलत प्रचारबाजी भएको भन्दै आपत्ति जनाएको हो । गौतमले गत २७ माघमा र श्रेष्ठले सोमबार संसदमा आकस्मिक समयमा बोल्न समय मागेका थिए ।
तर, सभामुख घिमिरेले दिएनन् । रास्वपाले सभामुखले पक्षपातपूर्ण ढंगले सभा सञ्चालन गरेको भन्दै उनको आलोचना गरेको छ ।
श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको मृत्युपछि उत्पन्न घटनाक्रमबारे सरकरको ध्यानाकर्षण गराउन चाहँदा समय नदिइएको बताएकी छन् ।
‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ’ सचिवालयले भनेको छ, सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो ।’