एमाले वडाअध्यक्षको दादागिरी, वडासचिवलाई कुटेर घाइते बनाए

काठमाण्डु टुडे २०८१ फागुन ५ गते २१:५९ मा प्रकाशित

तनहुँ, ५ फागुन-तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङले वडासचिव कुटेका छन् ।

उनले सोमबार वडासचिव नवीन भुसाललाई कुटपिट गरेका हुन् । प्रहरीले वडाअध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।

तनहुँ प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले वडास्तरीय भलिबल प्रतियोगिताको बिल स्वीकृत नगरेको आरोपमा सचिवमाथि कुटपिट भएको बताए ।

गाउँपालिकाको कार्यालयले नै वडाध्यक्ष गुरुङले सचिव कुटेको भन्दै कारबाहीको माग गरेर तनहुँ प्रहरीमा पत्राचार गरेको छ ।

प्रहरीले मंगलबार पीडित कर्मचारी, गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी मुद्धा कसरी अगाडि बढाउने भन्नेबारे निर्णय लिइने बताएको छ ।

कुटपिटबाट घाइते वडासचिव भुसाललाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । वडाअध्यक्ष गुरुङ ०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us