दाङ, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरै बकबक गरेर हिंड्न थालेको आरोप लगाएका छन् ।
एमाले दाङले सोमबार घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले धेरै बकबक गरेर हिंडिरहे ठूलो षड्यन्त्रको पर्दाफास गरिदिने चेतावनी दिए ।
प्रचण्ड आफूहरु लोकतन्त्रवादी शक्तिलाई राजासँग मिलेर मास्न हिंडेको आरोप ओलीले लगाए । लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएको ओलीको टिप्पणी थियो । उनीहरू नै लोकतन्त्रका मसिहा बनेको उनले बताए ।
‘माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो । त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहार्इ दिन सुहाउँदैन’, ओलीले भने, ‘धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस् ।’
प्रचण्डले सत्ताबाहिर पुगगेपछि आफू र एमालेविरुद्ध अनेक आरोप लगाउने गरेको भन्दै ओलीले आक्रोश पोखे । एमालेविरुद्धका कुनै पनि आरोप र हल्ला पछाडि नलग्न कार्यकर्तालाई आग्रह गरे ।
आफ्नो सरकार समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केन्द्रित भएको दाबी उनको थियो । नेपाल अब सुरुङ मार्ग र पानीजहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै ओलीले दाङको देउखुरीमा पनि सुरुङ मार्ग बनाउने योजना रहेको बताए ।
‘पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदैछ, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गङ्गासम्म लैजान सक्नुहुन्छ, त्यहाँबाट बङ्गाल जान सक्नुहुन्छ’, ओलीले भने ‘अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्ग जस्ता आयोजना निर्माणको काम चलिरहेका छन् । हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ । तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।’