काठमाण्डू, ५ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार भने चलिरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ । उनीहरू दुवैको शनिबारदेखि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।
मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिएका छन ।
मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने छ ।