काठमाण्डू उपत्यकाको वायुमण्डल तुवाँलोले भरियो

काठमाण्डु टुडे २०८१ फागुन ५ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– पछिल्लो केहि दिनयता देशको संघिय राजधानी काठमाण्डू उपत्यकाको वायुमण्डल तुवाँलोले भरिएको छ । यसले उपत्यकाको वायु गुणस्तर खराब भएको देखाउँछ । उपत्यकाको वायु गुणस्तर पछिल्लो पटक अस्वस्थकर सूचीमा पुगेको छ ।

आज सोमबार दिउँसो १ बजे वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यू एयर) अनुसार काठमाण्डू वायु गुणस्तर १८४ एक्यूआइ रहेको बताइएको छ । चिसो समय काठमाण्डू उपत्यकाको वायु अस्वस्थकर नै हुने गरेको छ ।

वातावरण विभागका अनुसार आइतबार बिहानदेखि साँझ ६ बजेसम्म काठमाण्डू उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ १५० भन्दामाथि रह्यो । साँझ ६ बजे ललितपुरको भैँसेपाटीको एक्यूआई उपत्यकाकै सबैभन्दा धेरै १६४ थियो ।

वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्ने विभागले उल्लेख गरेको छ ।

वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना, सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो रहेको विभागले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us