काठमाण्डू, ५ फागुन– भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएपछि पाइप लाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जानकारी दिएको छ ।
पेट्रोलियम पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइप लाइनबाटै नियमित रूपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिएका छन । उनले भने, ‘पाइप लाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छु, ‘अहिले पाइप लाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रूपमा वितरण थालिसकेका छौँ ।’
पाइप लाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले जानकारी दिएका छन ।
सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ। सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो। विभिन्न कारणले केही दिनअघि मात्र सो पाइप लाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले जानकारी दिएका छन ।
यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ। परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेलको आयात भइरहेको छ।
‘एउटै पाइप लाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो, प्रमुख आचार्यले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन थालेको ।’