हलेसी आगलागीः ७ करोड ३० लाख बराबरको क्षति

काठमाण्डु टुडे २०८१ फागुन ५ गते १३:०३ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– हिजो बोलुक खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको खुलेको छ। ग्यास लिक हुँदा सुरु भएको आगोले भीषणरुप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो । काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो ।

आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोस्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडिसँगै रहेको निजकै काठको दुई तले घरमा पूर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको छ ।

प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्याङकरले ओसार आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us