काठमाण्डू, ४ फागुन -राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानबहादुर शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकले शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको हो ।
बैठकको शून्य र विशेष समयमा सांसदहरूले सांसद शाहीले राष्ट्रिय सभा र सांसदहरुले गरिमामा आँच आउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।
राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक पारित गरेकामा आपत्ति जनाउँदै शाहीले सांसदहरुलाई होच्याउने अभिव्यक्ति दिएका थिए ।
उक्त विधेयक पारित भएपछि सामाजिक सञ्जालमार्फत शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए । राष्ट्रिय सभाले शाहीलाई आगामी लिनमा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर अभिव्यक्ति दिन निर्देशन दिएको छ ।
अध्यक्ष नारायण दाहालले कपोकल्पित झुट र यथार्थभन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमासमेत अत्यन्तै गैरजिम्मेवारपूर्ण धारणा व्यक्त गरेको देखिएको भन्दै त्यसप्रति सभाले खेद प्रकट गर्ने बताए ।