विष्णु पौडेल र धनराज भेट्न अस्पताल पुगेका ओलीले शान्दार मःमः का घाइते पनि भेटे

काठमाण्डु टुडे २०८१ फागुन ४ गते २०:४५ मा प्रकाशित

काठमाण्डू, ४ फागुन- प्रधानमन्त्री केपी ओलीले जलनबाट घाइते भएर उपचार गराइरहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार साँझ कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर प्रधानमन्त्री ओलीले पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि अस्पताल पुगेकी थिइन् । पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन पड्किएर शनिबार अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

अस्पतालले आइतबार ज्ञिप्ति निकालेर संक्रमणको जोमिख रहेको भन्दै पौडेल र आचार्यलाई भेट्न बन्द गरिएको जनाएको थियो । तर, बिहान राष्ट्रपति रामचन्द्र पौडेल र साँझ प्रधानमन्त्री ओलीका लागि भने अस्पतालले भेटघाटको प्रबन्ध मिलाएको थियो ।

पौडेल र आचार्यलाई भेटेपछि ओलीले सोही अस्पतालमा उपचाररत कमलपोखरीस्थित शान्दार मःमः सेन्टरमा खाना पकाउने एलपी ग्यासको सिलिण्डर पड्किएर घाइते भएका सर्वसाधारणलाई पनि भेटे ।

उच्च सरकारी अधिकारी र सर्वसाधारण एकै प्रकृतिका घटनामा परेर घाइते हुँदा फरक व्यवहार हुने गरेको भन्दै आइतबारको प्रतिनिधिसभा बैठकमा केही सांसदले सरकारको आलोचना गरेका थिए ।

ओलीले मःमः पसलमा भएको घटनामा घाइते भएका सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us