काठमाण्डू, ४ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए ।
ती मध्ये अन्तिममा थिए, आम जनता पार्टीका सांसद प्रभु साह । उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे । तर, प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । तर जवाफ दिएनन् ।
प्रधानमन्त्री ओलीले सांसद शाहको प्रश्नमा आक्रोशित हुँदै प्रश्न गरे, ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा, के म मेनपावरको मान्छे हुँ ?’उनले थप प्रश्न गरे, ‘अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो ।
तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’ प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । प्रधानमन्त्री ओलीले पनि अन्य प्रश्नहरूको जवाफ दिएनन् ।